दफा ३९
विवरण लिन वा कारोबार वा खाता रोक्का राख्न सकिने
(१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्दै जाँदा कुनै व्यक्तिको स्वदेश वा विदेशमा रहेको कुनै बैङ्क वा वित्तीय संस्थामा कारोबार भएको वा खाता सञ्चालनमा रहेको जानकारी कुनै स्रोतबाट खुल्न आएमा अनुसन्धान अधिकारीले त्यस्तो कारोबार वा खाता रोक्का राख्न आदेश दिन सक्नेछ । अनुसन्धान अधिकारीको आदेशानुसार सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले त्यस्तो कारोबार वा खाता रोक्का राख्नु पर्नेछ ।
तर, विदेशस्थित बैङ्क वा वित्तीय संस्थासंग त्यस्तो कारोबार वा खाता रोक्का राख्न परेमा अनुसन्धान अधिकारीले कूटनैतिक माध्यम मार्फत कारोबार वा खाता सञ्चालन रोक्का राख्न लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कारोबार वा खाता रोक्का नराख्ने नेपालस्थित सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको प्रमुखलाई अनुसन्धान अधिकारीले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) अनुसन्धान अधिकारीले अनुसन्धानको क्रममा आवश्यक ठानेमा सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्तिको विवरण माग गर्न वा त्यस्तो सम्पत्ति रोक्का राख्न सक्नेछ ।